विपस्सना ध्यान केन्द्रमा दस दिन

टेक्नोलोजीको जमाना छ। फेसबुक, इन्स्टाग्राम, यूटूबआदि सामाजिक संजालको जीवनले मानिसलाई झ्वापै छोपेको अवस्था छ। घरि के को टेन्सन , घरि के को। लाइफ तनाबपुर्ण छ। बिरलै होलान् जो शान्त संग बस्न सकून्। त्यसमा दस दिनको विपस्सना ध्यान शिविर जसमा पुरा नबोलिकान बस्नुपर्ने , मोबाइल चलाउन नपाउने। त्यहाँको नियम अनुसार बस्नुपर्ने। मानौ ठूलो कठिनाइ आइपरेको जस्तो लाग्छ।

तर मान्छेले सोचेको जस्तो प्राय कमै हुने गर्छ। सोचिन्छ एउटा , हुन्छ अर्को। सोचे जस्तो हुने भैदिएको भए को चाहिँ दुखी हुन्थे र ? नेपाल विपस्सना केन्द्र , धर्मशृंग , बुढानिलकण्ठ एउटा अहिलेको सन्दर्भमा हुलमुल , स्वस्थ वातावरण , टेन्सन युक्त जीवन , पारिवारिक दायित्व , आफ्नो काम कर्तब्य र मुख्यतया आफू स्वयंको लागि आफूलाई चिन्न र आफू को रैछ भनेर थाहा पाउन एकचोटी जीवनमा जानैपर्ने र त्यहाँको वातावरण प्रत्यक्ष रुपमा दर्शन गर्नैपर्ने एउटा आवश्यताको रुपमा लिन सकिन्छ।

“हामी मानिस जहिले बहिर्मुखी भएर जीवन चलाउछौँ। कहिले पनि अन्तर्मुखी हुनौं। के हो अन्तर्मुखी ? सामान्य उदाहरणको लागि त्र्याफिक जाम। दिनहुँ कमिलाको ताँती सरह बाटो अस्तव्यस्त हुन्छ। कोहि एउटा सवारी चालकले गल्ति गर्छ , उसले आफ्नो गल्ति कहिले पनि स्विकारदैन। अरुलाई गल्तिको पोको थुपारीदिन्छ। अनि परिणाम झगडा। जाम माथि जाम । त्यसमाथि मान्छेहरुको रमिता। आखिर के चाहियो नेपालीलाई। वाहा ! खुरुक्क एकजनाले गल्ति स्वीकारदा के जान्थ्यो ? तर आफू होचो र गल्ती महसुस गर्ने बानी हामी नेपालीहरुमा धेरै न्यून छ । कविशिरोमणि लेखनाथ पौड्यालले भन्नुभएका थिए , “मै खाउँ मै लाउँ , सुख सयल मोज मै गरूँ , मै बाचूँ , मै हासुं, अरु सब मरुन दुर्बलहरु।

मान्छे मात्रको पनि यसमा दोष छैन। पुरै देशको अवस्था नै तेस्तो छ। खाली आफ्नो लागि नभए आफ्नो परिवार , नत्र नातागोता। जो शक्तिमा छन् , जेसुकै गर्दा नि भयो। जसको शक्ति उसैको भक्ति । अरु सबै मान्छेहरु खोया जस्तो । यो “म मेरो” को प्रवृतिले धनी झन्झन् धनी , गरिब झन्झन् गरिब भएका छन्। नयाँ संबिधान आयो , तर आम नेपाली जनताहरुले के पायो त ? “म मेरोले” ग्रसित हाम्रो देशमा नेताहरुले खाली आफ्नो मात्र सोचे , आफूले मात्र खाए , लाए र आफ्नो परिवार , साथीभाई , र चाकरी गर्ने भाईचाऱाहरुलाई मात्र लगाए – खुवाए र धनी बनाए । हाम्रो देश भने जहिले खोक्रो र गरिब रहिरह्यो । गरिब , निमुखा र उत्पिडनमा परेका र साधारण तरिकाबाट जीबन यापन गरेका आम नेपाली जनताहरुले केही पनि परिवर्तन महसुस गर्न सकेनन् ।

“म र मेरो” एउटा यस्तो दुषित शब्द। आफ्नो सोच र कल्पना भन्दा बाहिर। यस्तो ट्युमर समान “म मेरो” लाई केही दिनको लागि टाढा गर्न सके कति मानसिक शान्ति प्राप्त हुँदो हो। आफैले कल्पना गर्नुस। येही विपस्सना केन्द्रमा दस दिनको लागि आफू कुन हद सम्म बहिर्मुखी भई बाँचेका छौँ भन्ने कुराको ज्ञान उपदेशले मात्र होइन की आफ्नो अनुभूतिद्वारा दर्शाउने अभ्यास गराइन्छ। विपस्स्सना के हो ? अवश्य कौतूहलता जाग्ला नै। अझ यसले आफूलाई नै दर्शन गराउने रे ? अनौठो लाग्नु त स्वाभाविकै हो। विपस्सना ध्यान भन्नुपर्दा गौतम बुद्ध जो एशियाका तारा भनेर कहलिएका छन् , उहाँद्वारा नै आविस्कार गरिएको विद्या हो। गौतम बुद्ध जन्मिएको हाम्रो देश नेपालमा नेपालीहरु खाली बुद्ध हाम्रो देशमा जन्मिएको भनेर गर्व गर्ने की उहाँले सिकाउनु भएको विद्या जुन विश्व प्रसिद्ध छ त्यसलाई अंगालेर सिक्ने र जीवनमा उतार्ने प्रयास गर्ने।

शाक्यमुनि गौतम बुद्धद्वारा प्राचिन कालमा सिकाइएको यो विद्या अहिले पुज्य गुरुजी श्री सत्यनारायण गोइन्काज्यूको निर्देशनमा १० दिन विपस्सना ध्यान शिबिर बुढानिलकण्ठ , मुहानपोखरीमा चल्ने गर्दछ। विपस्सना ध्यान भन्नाले आफ्नो साढे तीन हातको काया भित्रको वास्तविक सत्य के हो , रागरिस , द्वेष , दुर्भावना , मोह , कामवासना आदिले हाम्रो शरीरलाई कसरी छोपेको भन्ने बारे यस ध्यानमा प्रत्यक्ष रुपमा थाहा पाउन सकिन्छ। कस्तो अनुभव बिधि हो यो ? आफू भित्र पड्किरहेको ज्वालालाई चाल पाउन सकिने। आफूमा भएको नराम्रो गुणलाई थाहा पाउने अर्थात् दुर्गुणलाई छोडेर सतगुणलाई अंगाल्ने। जीवनलाई सार्थक तुल्याउने । मान्छे भएर जन्मिनुको सारलाई यथार्थ रुपमा जान्ने। साँचै अद्भुत विद्या हो यो विपस्सना साधना।

यो ध्यानको अर्को पाटो भनको मनको कसरत हो। मन ज्यादै चंचल छ, चुलबुले छ। आकुल , ब्याकुल छ। एक ठाउँ मा टिक्दैन। खाली भूत र भविष्यमा मात्र भडकिन्छ। बेहोस छ , होशमा छैन। मनको यस्तो छटपटे पनलाई तह लगाउन कस्लाई मनपर्दैन होला। हामी मनको अधिन भएर बाँच्छौ। उसले जे चाह्यो , जे सोच्यो , हामी बाध्य भएर त्यही गर्छौं । हामी आफ्नो मनको मालिक होईन , बरु गुलाम हो। यस ध्यान शिविरमा मनलाई तह लगाउने तरिकाको पनि अभ्यास गराइन्छ। जसलाई भगवान् बुद्धको पालि भाषामा “आनापान सत्ति” भनेर भन्ने गरिन्थ्यो। आन अर्थात् “सास भित्र आएको” , आपन अर्थात् “सास बाहिर गएको” र सत्ति को अर्थ “स्मृति , होश राख्नु”। यही नै यसको साधारण अर्थ हो।

ध्यानको आसनमा बस्दा कम्मर , पींठ , गर्धन सिधा राखी , पलेटी कसी आँखा बन्द गरेर आफ्नो सारा ध्यान नांखको प्वालमा केन्द्रित गरी शुद्ध , स्वाभाविक सांस जुन आफ्नो गतिमा आइरहन्छ, गइरहन्छ, त्यसलाई मात्र चाल पाउनु पर्दछ। हाम्रो काम भनेको त्यही प्राकृतिक रुपमा आएको गएको सांसलाई यथाभूत रुपमा दर्शन गर्नु मात्र हो। यही ध्यानलाई आनापान स्मृति भनिन्छ। जसरी कुनै गेटको चौकीदारले को मान्छे भित्र आयो , को मान्छे बाहिर गयो , कुन रङको मान्छे भित्र आयो, कुन हुलियाको मान्छे बाहिर गयो , कुन बर्ण , कुन जात आदि सबैको जानकारी लिईसकेपछि भित्र बाहिर गराउंछ त्यसरी हामीले पनि चौकीदार सरह मनलाई नांकको प्वालमा केन्द्रित गरी लामो , छोटो , बाक्लो , पातलो , हलुका आदि साँसको चाल पाउन सक्नु पर्दछ। यही सही अर्थमा आनापान साधना हो। काम सुन्दा सजिलो जस्तो लाग्छ तर गर्दा यो भनेको जस्तो सजिलो हुँदैन। हाम्रो डुलन्ते मन एकछिन पनि सांसमा टिक्दैन। टिक्न सके त धेरै राम्रो। तर हार नमानी निरन्तर रुपमा हरेश नखाई भड्केको मनलाई एक थोपा पनि उदासिनता नदेखाई होशपूर्वक यो कार्य गर्न सकेमा मनलाई धेरै शान्ति मिल्दछ र यो सत्य कुराको अनुभव स्वयम् आफैले दर्शन गर्न सकिन्छ।

दश दिन त्यहाँ बस्ने। के खाने ? कसरी बस्ने ? बोल्नु नहुने रे। आफ्नो धर्म, परम्परा र कर्म काण्डमा कट्टर आस्था राख्नेलाई यहाँ आएर समय बिताउनु , कुनै धर्ममा विश्वास राख्नु र यहाँको समय तालिका अनुसार चल्नु कुनै सहज चीज भने होइन। तर यहाँ बसेपछि जुन मानसिक सुख र शान्ति मिल्दछ त्यो जुनसुकै संसारको कुनाकाप्चा पाइएला भनेर बिरलै सोच्न सकिन्छ। खानपिनको कौतूहलता ? बिहान ब्रेकफास्ट र दिउँसोको भोजन। स्वादिलो , पोषिलो र शुद्ध साकाहारी। रात्री भोजनको भने व्यवस्था छैन। किन ? यो ध्यान भावना नै यस्तो किसिमको छ। शरीरलाई मध्यम आहार। पेटमा समस्या छ ? कुनै रोगले ग्रसित हुनुहुन्छ ? केहि चिन्ता छैन। त्यहाँको सेवक अथवा गुरुहरुको परामर्श पछी आफ्नो समस्याको समाधान पनि कुनै कोणबाट अवश्य निस्कन्छ। आफ्नो संगैको साथीहरु र आफू संगै आएका कोही मित्रहरुसंग शिविर अवधिभरसम्म बोल्न निषेध। किन ? बाचुन्जेल तह लगाउन नसकेको यो चन्चले मनलाई ठाउँमा राख्नु छ। कुनै सहज काम त यो अवश्य होइन। त्यही कारण आफूलाई सम्हालेर बस्न जरुरी छ। तर आफूलाई केही अप्ठ्यारो आइपर्यो , ध्यान बिधि सम्बन्धि केही अबुझ कुराहरु छन् भने निर्धक्कका साथ आफ्नो आचार्य सामू त्यो कुरा राख्न सकिन्छ। त्यहाको स्वच्छ वातावरण , होहल्ला , कोलाहलबाट टाढा , छोटो अवधिको लागि भएपनि सामान्य जीवनशैली , स्वस्थ आहार र अद्वितिय ध्यान बिधि जो कोहीलाई पानि आएर जान्न , बुझ्न , सिक्न र व्यवहारमा उतार्न प्रेरित गर्छ।

दश दिन उक्त शिविरमा तीन दिन आनापाना ध्यान भावना गराइन्छ। के का लागि ? मनको कसरत। आदि न अन्त्य नभएको र गन्तब्य रहित डुलिरहेको मनलाई अब बाटो निर्धारण गरी यसलाई तालिम जान्ने काम गर्नु नै तीन दिनको मिहेनत र कसरत हो। त्यो समयमा हामीले जान्न सक्छौं कि सांचै यो मन के बिना चंचल छ , के बिना चकचके छ र यसको उचित व्यवस्थापन नगर्नाले कस्तो भयावह स्थितिको सृजना हुन्छ। कस्तो डरलाग्दो अवस्था त ? हाम्रो मनमा कहिले क्रोध , विलाप , सन्ताप , ईर्ष्या , मोह , लोभ , पश्चाताप , काम वासना , बदलाको भावना र अन्य धेरै दुर्भावानाहरु जाग्छन् । कुनै बेला परोपकारी भावना, राम्रो आचरण, मनैबाट केही राम्रो गरूँ भन्ने चित्त पनि जाग्दछ। त्यो हुनसके त धेरै राम्रो। तर खतरनाक मनको नतिजा यस्तो अकल्पनिय हुन्छ कि यसले मान्छेलाई जिन्दगी भरी पश्चातापको भुमरीमा धकेलिदिन्छ। अहिलेको सन्दर्भमा बलात्कार, रेप, एसिड आतंक पनि त्यसैको परिणाम हो। बलात्कारी मान्छेको चित्त त्यो बेला यस्तो गलत आचरणले भरिएको हुन्छ कि त्यो समयमा के गरिरहेको पत्तो नै हुँदैन। रिसले आँखा नदेख्दा ऊ यस्तो बेहोस हुन्छ कि उसले त्यो समयमा कस्को के हानी गर्यो पत्तो हुँदैन। एसिड अरुको अनुहारमा फालेर भाग्ने व्यक्तिको दुर्भावना, बद्ला, प्रतिसोधको आधार यति तिब्र हुन्छ , उसको होश आउँदा आफूले कस्तो किसिमको कुकर्म गरें भन्ने कुराको चाल पाउँछ। अनि त्यो समयमा नीच कार्यले गर्दा ऊ जिन्दगी भर आत्मग्लानी भएर बाँच्न बाध्य हुन्छ। अरु त्यस्ता मनको बेहोसिपनाले थुप्रै काण्डहरुको समाचार दिनप्रति दिन सामाजिक संजाल , पत्रपत्रिकाहरुमा सुन्दै आइरहेका छौँ।

तीन दिनको आनापाना सत्ति पश्चात चौथौ दिनमा गुरुजीको निर्देशन अनुसार “विपस्सना ध्यान” गर्न सिकाइन्छ। विपस्सना ध्यान साधना शाक्यमुनि गौतम बुद्धबाट नै अभ्यास गरिएको मार्ग हो। दुखबाट कसरी मुक्त हुन सकिन्छ , जीवन असाध्यै दुखमय छ , आमाको कोखबाट जन्मिएको बच्चा “च्याँ च्याँ” रुँदै उसले आफ्नो चुनौतीपूर्ण र दुखमय जिन्दगीको सुरुवात भएको संकेत गर्दछ। नमरुन्जेलसम्मको संघर्ष कहिल्यै सकिन्न। त्यो संसार चक्र चलिरहन्छ। यो बन्धनबाट कसरी छुट्कारा पाउन सकिन्छ भनेर भगवान् बुद्धले यही विपस्सना ध्यानको माध्यमबाट त्यसबेलाका करोडौं मानिसहरुलाई बाटो देखाउनु भएको थियो । त्यही पवित्र र शुद्ध ध्यान विधि चौथो दिनबाट यस ध्यान केन्द्रमा सिकाइन्छ।

विपस्सना ध्यान साधना आफ्नो शरीरमा घटिरहेको घटनालाई यथाभूत दर्शन गर्ने माध्यम हो। यो ध्यानको निरन्तर अभ्यासले मानिसको दुखको श्रोत के हो ? ऊ सधैँ किन दुखी हुन्छ , बाहिर घटेको घटनाले उसलाई किन फरक पार्दछ, ऊ सधैँ किन आकुल ब्याकुल हुन्छ , उसले आफूले आफूलाई किन नियन्त्रण गर्न सक्दैन। यी सबै प्रश्नको उत्तर अलिअलि गरेर थाहा पाउने अवसर प्राप्त हुन्छ। यो कुनै मनचिन्ते कुरा होइन या कुनै बुद्धिमान् गुरुले भनेको तार्किक वाणी पनि होइन। यो सबै यथार्थ स्वयम् आफ्नो अनुभूतिद्वारा नै चाल पाउन सकिने विद्या हो। आफैले दर्शन गर्न सकिने अद्भुत चामत्कारिक जादूको उदाहरण हो। अब आफैले चाल पाएको सत्यलाई सबैले अवश्य पनि स्विकारीन्छ नै होला। यो कुनै कथा , कुनै महापुरुषको जीवन आदि कुरामा अडीदैन। यो ध्यान गर्दा अनेक किसिमका अप्ठ्यारा परिस्थितिहरु आइपर्छ तर यसले यी चुनौतीहरुलाई कसरी पार लगाउन सकिन्छ भन्ने ज्ञान दिनुको साथै यसबाट टाढा रहेर कसरी मानसिक शान्ति प्राप्त गर्न सकिन्छ भनेर पनि मार्गदर्शन गर्दछ। ध्यान गर्दा विधि एवम् तरिका चाहीं त्यहींबाट साधारण ढंगबाट सबैले बुझ्ने गरी सिकाइन्छ।

चौथौ दिनदेखि नौऔ दिनसम्म नबोलिकन बस्दा , एक अर्कासंग कुरा नगर्दा कति मानसिक शान्ति मिल्दछ , सायद यो वर्णन गर्न नसकिएला। शारीरिक ब्यायाम जस्तै यो मानसिक कसरत भएकोले यसलाई ठेगाना लगाउन यस्तो बिधि अपनाउन पनि जरुरी नै छ। कति बोल्ने ? जीवन भरी चाहिने नचाहिने कुरामा हाम्रो मुख जहिले खुल्ला त हुन्छ नि। ९ -१० दिनको लागि चुप लागेर बस्नु पनि आफूले आफैलाई चुनौती दिनु सरह हो। आखिर आफ्नै भलाईकै लागि हो। आफ्नै कल्याणको लागि हो।

नौं दिनको कडा फलदायी परिश्रम पश्चात अन्तिम दिनमा मौन खोल्न लगाइन्छ अर्थात् त्यो दिन हामीले सबैसंग बोल्न छुट पाउछौं। एक अर्कासंग आफ्नो अनुभव साटासाट गर्न पाउछौं। आफूले कस्तो महसुस गर्यौं भन्ने कुरा नजिकका मित्रहरु आदिलाई जाहेर गर्न सक्छौं। येही दिनमा ” मैत्री भावना ” को अभ्यास गर्न पनि सिकाइन्छ। अर्थात् हामीले नौं दिनसम्म त्यहाँ बसेर जुन पुण्य कार्य गर्यौं त्यस कार्यको प्रभावले “म मेरो” , परिवार , साथीभाई , नातेदार , आफूलाई मनपर्नेदेखि मन नपर्नेसम्म सबैलाई सुख , शान्ति र समृद्धिको कामना गर्दछौँ । आफ्नो शत्रुलाई अहिलेसम्म त प्रतिसोध , हीन र हेलाकै भावनाले हेर्यौं नि। अब दया , माया र मित्रताको भावनाले हेर्न सिक्छौँ। यही नै यहाँ बसेर सिकिने अमूल्य रत्न हो। यही नै भगवान् बुद्धले सिकाउनुभएको मार्ग हो। उहाँ भन्नुहुन्थ्यो , ” वैरभावले वारभाव कहिले शान्त हुँदैन , मैत्री , करुणा , दया र मायाले मात्र त्यो शान्त हुन्छ।”

उक्त विपस्सना ध्यान केन्द्र शान्त , सुखी र समृद्धिको बाटोमा जान चाहने जो कोहीको लागि पनि एउटा अवसर हो। यहाँ जुनसुकै जात , गोत्र , धर्म , भाषा , संस्कृतिका मान्छेहरु आएर यहाँको वातावरणसंग घुलमिल भएर जीवनमा एक महत्वपूर्ण शिछ्या हाँसिल गर्न सकिन्छ। जुन मान्छेलाई एकदम आवश्यक हुन्छ। भगवान् बुद्धले नै भन्नुभए जसो मानिस जीवनलाई सही ढंगबाट लाभ लिन सके मात्र मानव जीवन सार्थक भएको सिद्ध हुन्छ। यसलाई खेर नफाली सदुपयोग गर्न जान्नु नै यहाँ विपस्सना ध्यान केन्द्रमा दस दिन आफ्नो अमूल्य समय खर्चेर सिकिने एउटा दिब्य मन्त्र समान हतियार हो। जुन आफुलाई चाहिएको बेला जुनै बखत पनि उपयोग गर्न सकिन्छ। ठिक तरिका बाट सदुपयोग गरेर आफ्नो जीवनलाई सार्थक तुल्याउनु नै यसबाट पाउने रत्न समान सधैं चम्किरहने गहना हो।